२०८१ जेष्ठ ५ गते शनिवार

भारतमा रिलायन्स जिओले ल्यायो स्याटलाइट मार्फत पहिलो इन्टरनेट सेवा



काठमाडौँ — भारतीय अर्बपति मुकेश अम्बानीको दूरसञ्चार कम्पनी रिलायन्स जियो इन्फोकमले भूउपग्रहमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गरेको छ । शुक्रबारबाट सुरु भएको ‘इन्डिया मोबाइल कंग्रेस २०२३’ समारोहमा कम्पनीले ‘जियो स्पेस फाइबर’ परियोजनाबारे प्रदर्शनी गरिरहेको छ ।

यससँगै जियोले भारतका ग्रामीण, दूरदराज र जटिल भूगोलमा उच्च गतिको ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने भएको हो । सर्वसुलभ मूल्यमा देशभर स्याटलाइट ब्रोडब्यान्ड सेवा पु‍र्‍याउने जियोको लक्ष्य छ । हाल कम्पनीले फिक्स्ड लाइन र वारयलेसमार्फत ४५ करोडभन्दा धेरै भारतीयलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराइरहेको जनाएको छ ।

‘कुनै पनि स्थानका ग्राहक र व्यवसायीले जियोमार्फत भरपर्दो, कम ल्याटेन्सी र उच्च गतिको इन्टरनेट र मनोरन्जन सुविधा प्राप्त गरिरहेका छन्,’ शुक्रबारको कार्यक्रममा रिलायन्स जियोका अध्यक्ष आकाश अम्बानीले भने, ‘अबको स्याटलाइट नेटवर्कले देशको विकटतम् स्थानमा पनि जियो ट्रु फाइभजीको पहुँच र स्तर वृद्धि गर्दै मोबाइल ब्याकहल क्षमता थप बढाउन सहयोग गर्नेछ ।’ स्याटलाइट नेटवर्क सेवाका लागि रिलायन्स जियोले स्याटलाइट टेलिकम्युनिकेसन नेटवर्क सेवा प्रदायक एसईएससँग सहकार्य गरी पछिल्लो मेडियम अर्थ अर्बिट ९एमईओ० स्याटलाइट प्रविधिमा प्रवेश गरेको छ ।

‘प्रतिसेकेन्ड धेरैभन्दा धेरै गिगाबिट डेलिभर गर्न सक्ने इन्टरनेट सेवा विस्तार गर्ने भारत सरकारको डिजिटल इन्डिया पहलमा साथ दिन पाउँदा जियोसँगै हामी आभारी महसुस गरिरहेका छौं,’ एसईएसका प्रमुख स्ट्राटेजी अफिसर जोन पल हेमिङ्वे भन्छन्, ‘हाम्रा केही फाइबर सेवा भारतका कतिपय भागमा जडान हुने क्रम सुरु भइसकेको छ । देशको डिजिटल रूपान्तरणमा यसले कस्तो परिणाम ल्याउनेछ, त्यो हेर्न आतुर भइसक्यौं ।’

अम्बानीका अनुसार जियोले भारतका २२ वटा सर्कलमा प्रत्येक १० सेकेन्डमा १० लाखभन्दा धेरै फाइभजी सेल जडान गर्ने लक्ष्य लिएको छ । हालसम्म देशको ८५ प्रतिशतमा फाइभजी नेटवर्क पु‍र्‍याएको उनले बताए । उच्च गतिको फाइभजी सेवा पुर्‍याउने विश्वमा सेवाप्रदायकमध्ये जियो पनि एक हो । जियोको फाइभजी सेवा विकास, डिजाइन र निर्माणमा शतप्रतिशत भारतीय जनशक्ति प्रयोग भएकामा पनि अम्बानीले आफूलाई गौरव महसुस हुने जनाए ।

प्रतिक्रिया दिनुहोस्